Blog Single

योजनावद्ध तरिकाले गलत वा गैरकानुनी कार्य गर्नु र सोको सत्यता लुकाउनु जालसाजी हो ।



पुजा सुबेदी Accounting & Taxation in Nepal

पाँच प्रतिशत आम्दानी जालसाजीलाई कहिले सम्म चडाउने ?

व्यक्तिगत वा आर्थिक लाभका लागि खराब मनसाय लिएर योजनावद्ध तरिकाले गलत वा गैरकानुनी कार्य गर्नु र सोको सत्यता लुकाउनु नै जालसाजी हो । संस्थाको संरचना, आन्तरिक नियन्त्रण र नीतिमा भएका कमीकमजोरी, व्यक्तिको महत्वकांक्षा, आर्थिक प्रलोभन र पारिवारिक दवावका कारण जालसाजी हुने गरेको पाइन्छ ।
विशेषतः संस्थाको सम्पत्ति दुरुपयोग, वित्तिय विवरणमा रकमहरुको गलत प्रस्तुती, घुस, क्षमताको गलत प्रयोग, झुटा व्यक्तिगत विवरण प्रदर्शन आदिका रुपमा जालसाजी हुने गरेको देखिन्छ । हरेक सानाठूला व्यवसायमा यस्तै कुनै न कुनै रुपमा जालसाजी भइरहेका हुन्छन् , त्यसैले भयो या भएन भन्ने प्रश्न भन्दा पनि कति जालसाजी भइरहेको छ र त्यसले व्यवसायमा कस्ता असर गरिरहेको छ, यो कुरा जान्नु र त्यसलाई घटाउनका लागि उपयुक्त कदम चाल्नु, हरेक लगानीकर्ता र व्यवसायीको लागि आवश्यक छ ।

जालसाजीबारे अध्ययन गरिरहेको संगठित अन्तराष्ट्रिय संस्था Association Of Certified Fraud Examiners (ACFE) ले विश्वका १२५ देशहरुको २,५०४ जालसाजीका मुद्धाहरुलाई नमूना लिएर गरेको एक अध्ययनका अनुसार २०१८ जनवरी देखी २०१९ सेप्टेम्बर सम्ममा जालसाजीका कारण अमेरिकी डलर ३.६ विलियन अर्थात नेपाली रकम ४२४ अरब बराबरको चोरी भएको पाइयो ।

सोही संस्थाको अध्ययन र अनुसन्धानका अनुसार हरेक वर्ष संसारको ५% आय जालसाजीका कारण नोक्सान हुने गर्दछ । अन्य विकसित देशहरु भन्दा तुलनात्मक रुपमा कमजोर संस्थागत संरचना, विकासोन्मुख प्रविधि र जालसाजी पहिचान र न्यूनिकरणका आवश्यक कदम नचालिने भएकाले , हाम्रो देशका संस्थाहरुमा जालसाजीको जोखिम बढी रहने र नोक्सानी ५% भन्दा बढी हुने कुरा दुईमत नै छैन ।

आजको प्रतिस्पर्धात्मक बजारमा कुनै पनि व्यवसाय वा संस्थाले आफ्नो आयकोे ५% भन्दा बढी रकम जालसाजीको लागतको रुपमा जान्छ भन्ने थाहा भएर पनि वेवास्ता गर्नु आफ्नै खुट्टामा जानाजान बन्चरोले हान्नु भन्दा कम होइन । समयमै आफ्नो संस्था र व्यवसायमा भइरहेको जालसाजीको बारेमा जानकार नभएमा वा थाहा भएर पनि वेवास्ता गरेमा संस्थाको प्रतिष्ठामा आँच आउने, विभिन्न कानुनी झमेला आउने, व्यवसाय पुन खडा हुन नसक्ने गरी नोक्सान हुने र रातारात बन्द गर्नुपर्ने जोखिम बढी रहन्छ ।

जालसाजी गर्ने व्यक्ति र जालसाजी हुन्छ भन्ने थाहा भएर पनि रोकथामका उपाय नअपनाउने दुवै व्यक्ति व्यवसायका लागि हानिकारक हुन्छन् ।

 

लेखकः पुजा सुबेदी (उहाँ विजनेश कन्सल्टिङ्ग ग्रुप नेपालकाे एसाेसिएट सदस्य मन्तु सेवा प्रा. लि. बर्तामाेडमा कर्यरत हुनुहुन्छ )